काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६६ रन बनाएको छ । कर्णालीका प्रियांक पंचालले ९०, पवन सर्राफले अविजित २७ रन बनाए । चितवनका सोहेल तानभीर, सेफ जेब र रवि बोपाराले १र१ विकेट लिए ।

आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यसअघि हिजो भएको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै काठमाडौं गुर्खाजले विजयी शुरुआत गरेको छ ।

एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।