काठमाडौं – तपाईं राजेशपायल राईको प्रशंसक हुनुहुन्छ भने यो खबरले तपाईंलाई सुखद आश्चर्यमा पार्नेछ । खबर छ, ‘राजेशपायल राईलाई पुत्रलाभ भएको ।’ काठमाडौंकै ह्याम्स अस्पतालमा दुई महिनाअघि उनलाई पुत्रलाभ भएको बताइन्छ । स्रोतका अनुसार बच्चा जन्मिएका बेला तीन दिनसम्म राजेशपायल अस्पतालमै बसेका थिए । यतिबेला भने उनी कार्यक्रमका लागि अमेरिकामा छन् ।

राजेशपायलसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट सन्तान जन्मिएको हो । यद्यपि यस कुरालाई राजेशपायल राईले आधिकारिक रुपमा भने पुष्टि गरेका छैनन् । त्यसो त उनले आफुलाई अहिलेसम्म अविवाहित भन्दै आएका थिए । हरेक पटकको अन्तर्वातामा उनलाई नछुटाइने प्रश्न हुन्थ्यो, ‘विवाह कहिले गर्ने ?’ उनले यसको स्पष्ट जवाफ कहिल्यै दिएनन् ।

उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई गुपचुप राखेपनि विवाहको औपचारिक घोषणा गर्ने तयारीमा रहेको स्रोतको भनाई थियो । यद्यपि विवाहको टुंगो नलाग्दै उनलाई पुत्रलाभ भएको खबर बाहिरिएको हो । सङबुङ राईको टिकटकमा राखिएको एक भिडियोले यो खबरलाई पुष्टि गर्छ । उनले सुत्केरी अवस्था र भर्खरै जन्मिएका शिशुलाई राजेशपायलले स्यहारसुसार गरिरहेको भिडियो राख्दै अंग्रेजीमा लेखेकी छिन्, ‘श्रीमान–श्रीमती ।’

टिकटकमा सक्रिय सङबुङ राजेशपायलभन्दा २६ बर्ष कान्छी हुन् । उनको उमेर अहिले २० बर्षको छ भने राजेशपायल ४६ बर्षका ।

राजेशपायलले सङबुङलाई नक्सालको आफ्नै घरमा राखेको स्रोत बताउँछ । राजेशपायलको काठमाडौंमा दुई घर छ, नक्साल र शान्तिनगरमा ।