शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ प्रदर्शन तयारीमा छन् । अन्तिम समयमा बलिउड फिल्म ‘भूल चुक माफ’को प्रदर्शन रद्द भएको छ । जसको फाइदा नेपाली फिल्मले उठाउनेछन् ।
प्रदर्शन हुन लागेका दुवै नेपाली फिल्म सामाजिक र सम्बन्धको कथावस्तुमा आधारित ‘सोसल ड्रामा’ हुन् । तपाईंलाई सोसल ड्रामा जनराका फिल्ममा रुचि छ भने यी दुई फिल्म दर्शनीय हुनसक्छन् ।
विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ले देशब्यापी १९० शो प्राप्त गरेको छ । सौगात मल्ल, गीताञ्जली थापा र मिरुना मगर स्टारर ‘जार’ले देशब्यापी ८६ शो पाएको छ ।
अहिले हलमा १० फिल्म चलिरहेकाले सप्ताहन्तबाट रिलिज हुन लागेका नयाँ फिल्मले पनि शो बाँड्नुपर्ने बाध्यता छ । नयाँ दुवै फिल्मले पाएको शो संख्या सुखद हो । ‘वर्ड अफ माउथ’ सकारात्मक प्राप्त गरेको खण्डमा फिल्महरूले राम्रो अकुपेन्सी हासिल गर्न सक्ने अपेक्षा छ ।