काठमाडौं – निर्माणाधीन पोखरा–मुग्लिन राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक हप्ताभित्र हटाइने भएको छ ।
राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ वटा छन् । विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् ।
राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ ।
विद्युत् पोलका कारणले काम प्रभावित भएपछि हिजो जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक हप्ताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटसमेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ ।
मुग्लिन–पोखरा सडकको पश्चिम खण्डको म्याद गएको वर्षनै सकिएपछि एक वर्ष थप गरिएको थियो । थप गरिएको समय आउँदो पुस दोस्रो हप्तासम्म रहेको छ । रासस