कास्की – निर्माण चरणमा खेपेको धूलो र हिलोको सास्तीलाई बिर्सँदै सर्वसाधारणले अब ४ लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।

निर्माणमा कुनै अवरोध नआएमा आउँदो हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । ५० वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम शुरू गरिएको थियो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ का रूपमा रहेको यस सडकको पूर्वी खण्ड ९जामुने–मुग्लिन० मा अहिलेसम्म भौतिक प्रगति ८२ दशमलव ९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५० दशमलव ३४ प्रतिशत पुगेको छ । पूर्वी खण्डका इन्जिनियर एवम् सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार कुल ४१ दशमवल ४५ किमी दूरीको यस खण्डमा ३ किमी मात्र कालोपत्र हुन बाँकी छ । ‘कालोपत्र अन्तिम चरणमा पुगेको छ, दमौली र डुम्रे बजारमा गरी झन्डै २ किमी सडक ६ लेनको बनेको छ, अन्यत्र ४ लेनको छ’, उहाँले भन्नुभयो, ‘आउँदो असारभित्रमा पूर्वी खण्डको काम सक्ने लक्ष्य छ ।’

पूर्वी खण्डमा पर्ने १७ साना–ठूला पक्की पुल गएको वर्ष नै निर्माण भएको इन्जिनियर पाण्डेले बताउनुभयो । तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको उहाँको भनाइ छ । कोभिड–१९ महामारीलगायत कारणले शुरूको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय तीव्र गतिमा सडक निर्माणको काम भएको इन्जिनियर पाण्डेले बताउनुभयो । पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम शुरू गरेको थियो । यस खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) का प्रमुख कृष्णबहादुर कुँवरले आउँदो जेठ पहिलो हप्ताभित्र यस खण्डमा एकतर्फी (दुई लेन) मा कालोपत्रको काम सकिने बताउनुभयो । कुल ३८ दशमलव ८८ किमी दूरीको यस खण्डमा अहिलेसम्म ३५ दशमलव ५ किमी एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको उहाँको भनाइ छ । ‘झन्डै ३ किमी मात्र एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ’, आयोजना प्रमुख कुँवरले भन्नुभयो, ‘आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।’

कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकलगायत क्षेत्रमा एकतर्फी कालोपत्र हुन बाँकी छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि सेती पुलसम्म एकतर्फी कालोपत्र भइसकेको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । ‘बिजुलीका पोल सार्न भएको ढिलाइले सडक निर्माणमा पनि केही असर पुर्‍याइरहेको छ’, उहाँले भन्नुभयो, ‘अझै ४ सय वटा जति बिजुलीका पोल हटाउनुपर्ने अवस्था छ ।’ आउँदो पुससम्म ठेक्काको म्याद रहेकाले त्यस अवधिमा कालोपत्र सक्ने गरी कामलाई गति दिइएको उहाँको भनाइ छ ।

कालोपत्र सकिएपछि फुटपाथ, सडक सुरक्षालगायतका काम शुरू हुने उहाँले बताउनुभयो । पश्चिम खण्डमा १८ दशमलव ५ किमी दूरीमा ६ लेन र बाँकीमा ४ लेनको सडक बन्नेछ । यस खण्डमा शहरी क्षेत्र बढी भएकाले ६ लेनमा सडक विस्तार गरिएको हो, आयोजना प्रमुख कुँवरले भन्नुभयो, तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि ६ लेन सडक निर्माण भएको छ । पश्चिम खण्डका १२ पुलमध्ये १० वटा बनिसकेका छन् । कास्कीको विजयपुर र तनहुँको शेराटारमा पुल निर्माणको काम भइरहेको छ ।

गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ । पोखरा आउजाउ गर्दा धूलो र हिलो छिचोल्दै घण्टौंको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य हुनेछ । रासस