काठमाडौं – सामाजिक संजालका चर्चित ‘कन्टेन्ट क्रिएटर’हरूले सरकारलाई सामाजिक संजाल नियमन गर्न तर बन्द नगर्न सुझाव दिएका छन् । टिकटकर अंश बर्मा र मिस पबीले विहिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर युवालाई सामाजिक संजालमा इन्गेज गर्ने वातावरण बनाइराख्न सुझाव दिए ।
प्रधानमन्त्रीसँगलाई भेटेपछि कन्टेन्ट क्रिएटर अंश वर्माले भेटमा आफूले सामाजिक संजालको नियमन गर्न तर बन्द नगर्न आग्रह गरेको बताए । ‘अघिल्लो सरकारले जस्तै बन्द नगर्न मैले भनेँ’ अंश बर्माले भने, ‘सामाजिक संजाल नेपालमा दर्ता हुनु राम्रो हो । फेक आइडीबाट गलत प्रचार भए हामीले रिपोर्ट गर्ने ठाउँ त हुनुपर्यो नि । तर, नियमनमा जोड दिनुपर्यो ।’
प्रधानमन्त्रीले विहिबार बेलुका चर्चित कन्टेन्ट क्रिएटरहरूलाई भेटेका हुन् । प्रधानमन्त्रीले पनि फेसबुकमा भेटबारे लेखेका छन्, ‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो । उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’