काठमाडौं – सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ले आज शुक्रबार प्रदर्शनको १०० दिन मनाउँदैछ । मुलुकका १० हलमा फिल्मले सय दिन पुरा गर्ने वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।
फिल्मले ४२ दिनसम्म औपचारिकरुपमा देशब्यापी ४९ करोड २५ लाख २२ हजार ४०० रुपैयाँ ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले जनाए ।
फिल्मले १०० दिनसम्म ५० करोडको आँकडा छोइ नसकेको राठीले बताए । ‘अहिले दैनिक केही हजार रुपैयाँको मात्र कलेक्सन छ । यो अनुपातमा ५० करोड मार्क गर्ने सम्भावना तत्काल देखिँदैन’ ।
७ विदेशी बजारबाट फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।
यसरी नेपालको ६ साता र विदेशको बक्सअफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० (करिब ५.३३ मिलियन अमेरिकी डलर) हुन आउँछ ।