काठमाडौं – ‘भ्वाइस अफ नेपाल’को छैटौं संस्करण यतिबेला चर्चामा छ । यसवर्षको यो प्रतीक्षित रियालिटी शो यसका प्रतिस्पर्धी र कोचको सहभागिताले चर्चित छ ।
शुक्रबार र शनिबार ब्लाइन्ड अडिसनको प्रसारणसँगै भ्वाइसको छैटौं संस्करण सुरु भयो । यतिबेला भने, चर्चाको केन्द्रमा कोच सेन्चुरी छन् । एकातिर उनको सहभागिता आफैमा उत्साहप्रद खबर हो । अर्कोतर्फ, खुट्टाले बजर थिचेपछि उनी विवादमा तानिए ।
यस्तोमा, सामाजिक संजाल प्रयोगकर्ताले व्यक्तिगतरुपमा टिप्पणी गरिरहेको देखिन्छ । तर, कोच सेन्चुरीले खुट्टाले बजर थिचेको पहिलोपटक होइन । अघिल्ला कोच अभया सुब्बा, मिलन नेवार, राजु लामा, राजेशपायल राईले पनि खुट्टाले बजर थिचेका छन् ।
अन्तर्राष्ट्रिय संस्करणमा समेत खुट्टाले बजर थिच्ने दृश्य सामान्यजस्तै देखिन्छ । भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल भन्छन् भ्वाइसको स्टेजमा खुट्टाले बजर थिच्ने कुरा पहिलोपटक भएको होइन । धेरैपटक अघिल्ला कोचले पनि गर्नुभएको छ । अन्तर्राष्ट्रिय अभ्यास समेत छ । उत्साह व्यक्त गर्ने यो एउटा शैली हो ।’
यसलाई सकारात्मकरुपमा लिने उनको भनाई छ । ‘भ्वाइसमा नयाँ दर्शक आउनुभएछ भन्ने हामीलाई लागेको छ’ पौडेलले भने, ‘यसलाई खुसीकै रुपमा लिएका छौं । जतिले विवाद र आलोचना गर्नुभएको छ उहाँहरू नयाँ दर्शक हुनुहुन्छ । यो सकारात्मक कुरा हो ।’











