जुम्ला – जुम्लामा जन्म र मृत्यु संस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ सालदेखि २० किलो चामल वितरणको व्यवस्था गरेसँगै आर्थिक वर्ष २०८१/८२ बाट सरकारले चामलको परिणाम बढाएर ३० किलो पुर्याएको छ ।
जुम्ला सदरमुकाम खलङ्गामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोष तिवारीले कर्णाली क्षेत्रमा मातृ मृत्युदर कम गर्न ३० किलो चामल दिने गरिएको छ । यससँगै भाडा पनि दिने प्रबन्ध गरिएको छ ।
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्कले कर्णालीका नागरिक यो योजनामा सक्रिय रूपमा सहभागी भएको देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा जन्मका लागि एक सय ४७ क्विन्टल र मृत्युका लागि १३ क्विन्टल २० किलो चामल वितरण गरिएको थियो । यस अवधिमा तीन लाख ८८ हजार पाँच सय रूपैयाँ भाडाका लागि खर्च गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्मको तथ्याङ्कअनुसार जन्म र मृत्युका लागि ८१ दशमलव ९ प्रतिशत क्वीन्टल चामल निःशुल्क वितरण गरिएको छ भने एक लाख ४८ हजार पाँच सय भाडाका रूपमा प्रदान गरिएको खाद्य कम्पनीले जनाएको छ । रासस









