काठमाडौं – सरकारले सुनको भन्सार दर घटाएसँगै दुई दिनदेखि घट्न थालेको सुनको भाउ आज भने सामान्य बढेको छ ।
आज सुनको भाउ नौ सय रुपैयाँले बढेर तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन दुई हजार ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।