धनगढी – कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले पुनर्वास नगरपालिका-३ को आईबीआरडीबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय अमितकुमार वर्णवार र बेलौरी नगरपालिका-२ बस्ने सितादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशवराज जोशी र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले उक्त अप्रेसन गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा यो एकैपटक ठूलो मात्रामा लागुऔषध खैरो हेरोइन बरामद भएको पहिलोपटक हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पुनर्वासले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।