काठमाडौं – चलचित्र विकास बोर्डको रियल टाइम डेटामा दोस्रो बिहीबार मध्यान्हसम्म ‘झिंगेदाउ’को देशव्यापी कमाइ २ करोड रुपैयाँ ग्रस छ ।
बक्स अफिस जडान नभएका हलको हिसाब समेत जोड्दा ‘झिंगेदाउ’को कमाइ २ करोड ३० लाखसम्म हुनसक्ने बताइन्छ । बोर्डको बक्स अफिस टोलीले बुधबारदेखि हलको अनुगमन सुरु गरेकाले फिल्मको हिसाब केही दिनमा स्पष्ट आउला ।
तर निर्विवाद के हो भने ‘झिंगेदाउ’ घरेलु बक्स अफिसमा ‘क्लिन हिट’ फिल्म हो । दोस्रो बिहीबार मध्यान्हसम्म पनि मल्टिप्लेक्समा झिंगेदाउको अकुपेन्सी ४० प्रतिशत छ, जुन लोभलाग्दो हो ।
डेढ करोड रुपैयाँमा निर्माण भएको फिल्मको कमाइ तेस्रो सप्ताहन्तसम्म तीन करोड ग्रस पुग्ने प्रारम्भिक अनुमान छ । त्यसपछि ‘प्रेमगीत ३’ र हलिउड फिल्म ‘अवतार’ प्रदर्शन हुने भएकाले चुनौती पक्कै आउनेछ ।
‘कबड्डी ४’पछि बक्स अफिसमा हिट हुनेमा झिंगेदाउ’ यस्तो फिल्म हो, जसले यति कमाउला भनेर वितरक समेत विश्वस्त थिएनन् । तर बलियो वर्ड अफ माउथको कारण दोस्रो विकडेजमा पनि हलमा दर्शकको लोभलाग्दो उपस्थिति देखिएको छ ।












