काठमाडौं – शंकर घिमिरे निर्देशित फिल्म ‘तेल भिसा’को तेस्रो गीत सार्वजनिक भएको छ । ‘कति रमाइलो’ बोलको गीतको भिडियो ‘बेबी सावर’को सन्दर्भमा भएको नाचगान र जम्काभेटमा आधारित छ ।
यसअघि निर्माताले ‘हरि नाम झैँ’ र ‘तुकुनको मुकुन’ गीत सार्वजनिक गरेका थिए । सार्वजनिक नयाँ गीतलाई अमेरिकामा छायांकन गरिएको हो । अञ्जु पन्त र आशिष अविरलको स्वर समावेश गीतमा एकनारायण भण्डारीको शब्द र गायक अविरलको संगीत छ ।
शिशिर खातीको नृत्य निर्देशन रहेको गितमा कलाकार दिलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवरलाई देखन् सकिन्छ । यसका अलवा फिल्मका कलाकार विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेको पनि अभिनय रहेको छ ।
गीत सार्वजनिक समारोहमा ऋचाले १० वर्षपछि नेपाली फिल्ममा काम गर्दा एकदमै ऊर्जा महसुस भएको अनुभव सुनाइन् । भन्छिन्, ‘सिनेमा नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै ऊर्जा आउने रहेछ ।’
वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सुशन प्रजापतिको छायांकन छ ।