काठमाडौं – एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । हिजो पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरिएको श्रव्यदृश्यमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका दृश्यसमेत समावेश गरिएको छ ।
वि.सं.२०७७ मा एसिड पीडितका लागि ल्याइएको अध्यादेशका कारण प्रधानमन्त्रीसहितका विशिष्ट व्यक्तिलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गरिएको निर्देशक, निर्माता तथा अभिनेता रमित ढुङ्गानाले बताउनुभयो ।
चलचित्रमा अभिनय गर्नुभएकी एसिड पीडित मुस्कान खातुनले समाज यस्ता अपराधलाई कम गर्न चलचित्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘एसिड आक्रमणको पीडा, पीडितले समाज र परिवारबाट खोज्ने साथ र राज्यले निर्वाह गर्नुपर्ने भूमिकालाई चलचित्रमा देखाइएको छ । यसले समाजलाई सचेत गर्छ भन्ने विश्वास छ ।’
चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभिनय गर्नुभएको छ । शिवम् अधिकारीको कथा रहेको चलचित्रमा प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।











