जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी–७ का १८ जना किसानलाई भेडा वितरण गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताउनुभयो ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरेको थियो । गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई वटा थुमा खरिद गरेर किसानलाई वितरण गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो । रासस