काठमाडौं – बाली लगाउनुअघि किराँत राई समुदायले उँभौली पर्व अर्थात् चण्डी पूर्णिमा मनाउँदै छन्। वैशाख शुक्ल पूर्णिमाका दिन भूमेस्थानमा पूजा गरी उँभौली पर्व मनाउने र चण्डी नाच्ने चलन रहेको छ ।

गर्मी बढेर मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले यो पर्वको नाम उँभौली रहेको बताइन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्राएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।