काठमाडौं – बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते, बिहीबार ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कार्यसूचीमा तय भएर पनि विगतमा दुई पटकसम्म स्थगित भएको थियो ।

२ चैत २०८० मा प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

२७ चैत २०८० मा पनि प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । त्यसदिन प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले नाराबाजी गरे । त्यसपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाएका थिए ।

बिहीबार बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।