काठमाडौं – पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीमा रहेको ठूलो भीरमा खोलिएको नयाँ ट्र्याकको अस्ति शनिवार काम सकिएसँगै ट्र्याक खुलेको हो ।

ट्र्याक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको ठाउँ सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ । पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलव दुई सय १८ किलोमिटर लामो छ ।

सडकको धेरै भागमा ट्र्याक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रसमेत गरेका छन् । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रूपमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत समेटिएको थियो ।

गएको आर्थिक वर्षमा पनि सडक डिभिजन कार्यालय पोखरामार्फत दुई करोड रुपैयाँ बजेट विनियोजन भएर ट्र्याक खुलाउने काम भएको थियो ।