विराटनगर – कोशी प्रदेशसभाको बैठकमा आज नेकपा एमाले र माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पेस हुँदैछ । आजको बैठकमा प्रस्ताव पेस भए पनि छलफल भने भोलिबाट सुरु गर्ने तयारी छ ।

मुख्यमन्त्री केदार कार्कीका २ छोरा साकेत र शाब्दिकको व्रतबन्ध आज भएका कारण प्रतिपक्षी दल संकल्प प्रस्तावमाथि छलफल एक दिन सार्न तयार भएका हुन् ।

नेकपा एमाले प्रमुख सचेतक तथा संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारीले आजको बैठकमा प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन मात्रै गर्ने बताए । छलफल भने भोलिको बैठकमा हुने उनले बताए ।

भण्डारीले बिहीबारको छलफललाई शुक्रबार सारिएको र शुक्रबार नै संकल्प प्रस्ताव पास गर्ने तयारी रहेको जानकारी दिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले पनि आजको बैठकमा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको बताए । उनका अनुसार छलफल भने भोलिबाट सुरु हुनेछ ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । समर्थन फिर्ता लिँदै उनीहरुले प्रदेशसभाको अधिवेशन माग गरेका थिए ।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् । उनलाई राजीनामा नदिने भए विश्वासको मत लिन निर्देशन दिनका लागि दुई दलले संकल्प प्रस्ताव दर्ता गरेका थिए ।

सोमबार दर्ता भएको संकल्प प्रस्तावको भाषामा मुख्यमन्त्री कार्कीले असहमति जनाएपछि बुधबार २ दलले संकल्प प्रस्तावको भाषालाई परिमार्जन गरेका थिए ।