काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले देशका लागि प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि सबैभन्दा ठूलो गौरव भएको बताएकी छन् ।

बिहीबार हुने फाइनल खेलको पूर्वसन्ध्यामा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै देशको लागि खेल्नु गर्वको विषयको भएको बताएकी छन् । ‘देशको लागि खेल्नु मेरो लागि आज पनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना सोचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला, उनले लेखेकी छन् ।’

यस्तै उनले व्यवसायिक करियरलाई र सम्झौतालाई पनि सम्मान गर्नुपर्ने अवस्था आएको बताइन् । ‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ,’ सावित्राले लेखेकी छन्, ‘क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

सावित्रा नहुँदा नेपाली टिमलाई मनोवैज्ञानिक रुपमा असर पर्नेछ । साम्बा नहुँदा विपक्षीको लागि पनि फाइदा पुग्नेछ । तर, सावित्राले नेपाली टिम राम्रो लयमा रहेको र आफू नभए पनि नेपालले एक टिमको रुपमा उच्च प्रदर्शन गर्दै जित्न सक्षम रहेको बताएकी छन् । ‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भए पनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।’

खेलाडीको रुपमा मैदानमा उपस्थित नभए पनि मैदान बाहिर बसेर टिमलाई समर्थन गर्ने बताइन् । ‘खेलाडीको रुपमा मैदानमा नभए पनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु । शुभकामना टिम । हामी सक्छौं, हामी गर्छौं ।’

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार राति नेपाली समय अनुसार पौने १० बजे हुनेछ ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल-फैसल स्पोर्ट्स सिटी मैदानमा हुने यो फाइनल खेल भने सावित्राले खेल्ने छैनन् ।

केही समयअघि मात्रै युरोपमा व्यवसायिक करियर सुरु गरेकी सावित्राले राष्ट्रिय टिमको खेल छाडेर क्लब ड्युटीमा जानुपर्ने भएपछि फाइनल खेलमा अनुपस्थित हुने भएकी हुन् ।

नेपाली महिला टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा १० फाइनल खेल पनि सधैं उपविजेतामै रोकिंदै आएको छ । यसपटक भने नेपालले उपाधि जितेर इतिहास रच्ने लक्ष्य बनाएको छ ।