काठमाडौं – भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई युवकको मृत्यु भएको घटनालाई हत्या भनेको र हत्या भए कारबाही किन नगरेको भनी प्रश्न उठाएका थिए ।

यस सम्बन्धमा प्रधानमन्त्री प्रचण्डको जवाफ नआएसम्म सदन चल्न नदिने उनको चेतावनी थियो । लगत्तै, माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद शाहीको भनाइको प्रतिवाद गर्दै राजीनामा दिन सुझाएका थिए ।

‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन । संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो रु’ सापकोटाले भने, ‘तपाईंहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईंहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’

आफूलाई राजीनामै दिन भनेपछि आक्रोशित भएका शाहीले निरन्तर बोल्न सभामुखसँग समय मागे तर, पाएनन् ।

सभामुखले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेले पनि विवादित मन्त्रीहरुको सम्बन्धमा सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उठेर अवरोध गर्यो ।

तर, राप्रपाका सांसदहरु आधा मात्रै उठे आधा भने बसिरहे । राप्रपाका सांसदहरु शाही, धवल शम्शेर जबरा, विना जैसवाल, रोशन कार्की उठिरहेका थिए । राप्रपाका सांसद दीपक सिंह, ध्रुव बहादुर प्रधान लगायत भने बसिरहेका थिए ।

राप्रपाका सांसदहरुका अनुसार ‘समन्वय र बुझाइका साथ साथै अकस्मात विषय अर्को ढंगले आएकाले कोही बस्ने कोही उठ्ने जस्तो भएको हुन गएको हो ।’ तर, पार्टीका सबै सांसदको मत एकै रहेको उनीहरु बताउँछन् । राप्रपा सांसद दिपक सिंह आफूहरू उठेर पनि बसेको बताउँछन् ।

विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित हुन पुगेको थियो ।