पोखरा – ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारका जीवन गुरुङले पेनाल्टी बक्सभित्र पुगेको बल क्लियर गर्ने क्रममा बाहिरिएसँगै मुख्य रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई कर्नरको संकेत गरे । उक्त कर्नर सिद्धान्त चौधरीले प्रहार गर्दै अनमार्क रहेका कप्तान जिलेप्सीजंग कार्कीलाई दिए । जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाए, जसलाई विपक्षी गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् ।

खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

आर्मी त्यतिमै रोकिएन । खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोलरक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।