काठमाडौं – अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डरलको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो ।

लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । पछिल्लो ३० र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो ।

लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो ।

नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

डलरको तुलनामा नेपाली मूल्य अवमूल्यन हुँदा आयातमा आधारित अर्थतन्त्रमा चाडवाडको मुखमा उपभोक्ताले झनै महँगी सामाना गर्नुपर्ने अवस्था आउने भएको छ । नेपाली मुद्रा कमजोर हुँदा डलरमा आयात हुने बस्तु झनै महँगिने हुन्छ ।

तर, वैदेशिक रोजगारीमा रहेर रेमिट्यान्स पठाउनेहरुलाई भने यसले फाइदा पुग्नेछ ।