काठमाडौं – थारु समुदायले आज अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज एक दिन सम्बन्धित थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

भदौ महिनाको कृष्ण अष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी पर्व मनाउँछन् । पर्वको अवसरमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ भीमको पूजा गर्ने चलन छ ।

गहुँको पीठो, चापलको पिठो र मासको दालबाट बनाइएका परिकार र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग व्रतालुले खाने चलन छ ।

उक्त परिकार दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन छ । त्यसलाई अग्रासन भनिन्छ । अग्रासन दिएर र्फकने क्रममा दिदीबहिनीले दाजुभाइलाई मिठा परिकार खुवाउने र उपहार दिने गर्दछन् ।

थारू समुदायको बढी बसोबास रहेका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । ती जिल्लाका थारु वस्तीहरुमा अट्वारीको विशेष रौनक छ । अट्वारी पर्वको अवसरमा गाउँमा नाचगान र साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने चलन छ ।