काठमाडौं – नेपालले तीन वर्षअघि जारी गरेको भौगोलिक नक्सालाई नेपालका छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गर्दै नेपालको धारणा सार्वजनिक गरेको हो । चीनले जारी गरेको नक्सामा नेपालको भूभाग भारतमा देखाएपछि त्यस सन्दर्भमा मन्त्रालयले प्रेस नोट जारी गरेको हो ।
‘नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ,’ प्रेस नोटमा भनिएको छ । नेपाल नक्सा नेपाली संसद्ले अनुमोदन गरेको र त्यसमा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।
‘सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ,’ प्रेस नोटमा छ ।
गत मंगलबार चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छिमेकी नेपालको पुरानै नक्सा राखेर जारी गरेको थियो । उक्त नक्सामा नयाँ चुच्चे नक्सासहितको छिमेकी नेपाल नभएर पुरानै नक्सा भएको नेपाल समेटिएपछि त्यसलाई लिएर आलोचना हुँदै आएको छ ।













