अहिले मलमास चलिरहेको छ । मलमास के हो ? यतिबेला कतिपय कुरा वर्जित गरिएको छ ? धेरैका लागि उत्सुकताको विषय बनेको छ । साथै कतिपयले यसलाई सामान्य कर्मकाण्ड वा परम्परा मात्र पो हो कि भने हल्काफुल्का रुपमा सोच्ने पनि गरेका छन् ।

मासको अर्थ महिना हो । मलमास भनेको अधिक मास हो । मलमास खगोल विज्ञानसँग सम्बन्धित छ । सूर्यको गति र चन्द्रमाको गतिको आधारमा गणना गरेर यसको हिसाबकिताब निकालिन्छ । सूर्यको गतिअनुसार गणना गरिने मासलाई सौरमास भनिन्छ । चन्द्रमासको गतिको आधारमा गरिने मासलाई चन्द्रमास भनिन्छ ।

तिथिको आधारमा औंसीदेखि अर्को औंसीको अवधिलाई चन्द्रमास मानिन्छ । यो बीच चन्द्रमास र सौर्यमासको गतिको अन्तर फरक हुँदाहुँदै लगभग तीन वर्षमा एउटा चन्द्रमास बढी हुन्छ । अर्थात्, सूर्यमानका आधारमा ३६५ दिनको एक वर्ष हुन्छ भने चन्द्रमानअनुसार ३५४ दिनको एक वर्ष हुन्छ । प्रत्येक तीन वर्षमा चन्द्रमाअनुसार गणना गर्दा एक महिना बढी हुने भएकाले मलमासलाई अधिकमास भन्ने गरिन्छ ।

त्यस्तै एक महिना अधिक भएको र सूर्यको गतिको आकार नभएकाले महिना बेकार भयो वा मल जस्तो मानेर यो महिनालाई मलमास भनिएको हो । अधिक मासको गणना ऋग्वेदको समयदेखि नै हुँदै आएको देखिन्छ ।

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभकार्य, देवकार्य एवं पितृकार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास बर्जित कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नो दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिंदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ, आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । साथै तीन-तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मलमासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्छ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक रूपमा नवविवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेषगरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुन सक्छ ।