काठमाडौं – प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति भएको छ ।

आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो ।

संसदभित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो ।

छलफलमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने आरोपको संसदको रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रष्ट्याउने सहमति एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो,’ उनले भने, ‘ ‘ भिडियो रेकर्डबाट हट्छ । जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ ।’

सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसदमा अभिव्यक्त गरेको भन्दै सो विषय पनि संसदको रेकर्डबाट हटाउने सहमति भएको बताए ।

संसदको जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीलाई इंगित गर्दै पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।