काठमाडौं – आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।

आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूलप्रसाद चढाउँछन् ।

मातातीर्थमा स्नान गर्नाले छोराछोरी आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकाभर सार्वजनिक विदा नै दिइएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अनुसार यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको छ । उनले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी पनि दिए ।

आमाको मुख हेर्ने दिनलाई आमा खुवाउने औंसी वा मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आमालाई मीठा मीठा खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशिर्वाद लिने चलन छ ।

आमाभन्दा टाढा रहेकाहरुले टेलिफोन गरेर आशिर्वाद लिन्छन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखी श्रद्धा प्रकट गर्ने चलन बढेको छ ।