काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८ लाख ९६ हजार ४ सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी ६ मागसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ माघसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि-आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ । रासस