काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् ।
मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरुको दाबी छ । उनीहरुका अनुसार विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा बोलाउने छन्, जसले एमाले र माओवादी (ओली–प्रचण्ड)बीच विग्रह सुरु हुनेछ । ‘हामीले दिएको विश्वासको मतले एमाले र माओवादीबीच विश्वासको संकट पैदा हुन्छ, विग्रह सुरु हुन्छ,’ एक नेता भन्छन् ।
संस्थापन पक्षका केही नेता त प्रधानमन्त्री प्रचण्डले सभामुख दिन नसक्ने, तर राष्ट्रपति निर्वाचनसम्म पुग्दा परिस्थिति अनुकूल बनाउने आश्वासन दिएको दाबी गर्छन् ।
तर कांग्रेसका पदाधिकारीबीच एक मत हुन सकेन ।विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नु पर्ने माग गरेका थिए ।












