काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा रविन्द्र मिश्र समूहबाट ४० जनालाई स्थान दिइएको छ । केन्द्रीय समितिमा परेकामध्ये मिश्र पक्षबाट शरदराज पाठकले महामन्त्री पद पाएका छन् ।

यसअघि नै राप्रपामा धवल शमशेर जबरा, भुवन पाठक, कुन्ती कुमारी शाही, प्रह्लाद साह र राजेन्द्र गुरुङ महामन्त्री छन् । पाठकसमेत थपिएपछि महामन्त्रीहरुको संख्या ६ पुगेको छ ।

२०७९ असोज १२ गते मिश्र राप्रपा प्रवेश गरेका थिए । मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्ष पद पाए पनि उनको पक्षबाट अरु को–कोलाई के–के जिम्मेवारी दिने भन्ने टुंगो थिएन ।

तर अहिले ४० जनालाई केन्द्रीय समितिमा स्थान दिइएको र थप ५ जनालाई छिट्टै मनोनयन गरिने महामन्त्रीको जिम्मेवारी पाएका पाठकले जानकारी दिए । अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजनको कार्य शुरू गरिने उनले बताए ।