काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरूलाई आमन्त्रण गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले पार्टीका सबै सांसदलाई बोलाएको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसदको सबैभन्दा ठूलो दल बनेको छ।
सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरू भएको छ। रासस












