काठमाडौं – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चार जनाको शव फेला पारेको जानकारी गराएको हो ।

यसअघि सात जना शव भेटिएको थियो । हिमपहिरोमा १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।

खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ । हिम्लुङ हिमालको आधारशिविरमा गएको आइतवार असोज ११ गते बिहान हिमपहिरो गएको थियो ।