काठमाडौं – बाढीपहिरोले अवरुद्ध मुख्य सडक अझै नखुल्दा यात्रुले सास्ती पाएका छन् ।

संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा पाँच दिनदेखि गाडी चल्न सकेका छैनन् । देशका अरु सडकखण्ड पनि अवरुद्ध छन् ।

अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो हटाउने प्रयास भैरहेको छ । तर धेरै ठाउँमा ठूलो पहिरो खसेकोले खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर, मलेखु नजिकैको परेवाभिर र गजुरी नजिकैको चालिसेमा अहिले पनि पहिरो पन्छाउने काम भैरहेको छ । धादिङबेसी चल्ने वैकल्पिक सडकमा हिजोदेखि गाडी चले पनि पृथ्वी राजमार्गमा गाडी सञ्चालन भैनसकेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भरे या भोलिसम्म गाडी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम भैरहेको छ ।

काठमाडौं जोड्ने अर्को मुख्य सडक बीपी राजमार्गमा पनि गाडी सञ्चालन भैसकेको छैन । पहिरो पन्छाउने काम भैरहे पनि सडक कहिलेदेखि खुल्छ भन्ने यकिन भैनसकेको काभ्रे प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड हुँदै पोखरातर्फ चल्ने गाडी भने चलिरहेका छन् ।

काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ र भीमफेदी–फाखेल सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक विभागले अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भैरहेको दावी गरे पनि मुख्य सडक ५ दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरुलाई निकै सास्ती भएको छ।अबको तीन दिनमा सबैजसो सडक सञ्चालनमा आउने गरी काम भैरहेको सडक विभागले जनाएको छ ।

बाढीपहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सडक सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन् । बागलुङ, म्याग्दी र मुस्ताङबाट गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सिद्धार्थ राजमार्गको कुश्मा–मालढुंगा खण्डमा कालीगण्डकीको बाढीले कटान गरेपछि ती तीन जिल्ला केन्द्रीय सडक सञ्जालबाट बाहिर पुगेको छ ।

बाढीले पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल पनि भत्काएको छ । पहिरोले बेनी–जोमसोम–कोरला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको अरु जिल्लासँग सडक सम्पर्क टुटेको छ । म्याग्दीको बेनीदेखि दरवाङसम्म पुग्ने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । बागलुङमा मध्यपहाडी राजमार्गको विभिन्न खण्ड तथा कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरलाखण्ड पनि अवरुद्ध छ । यी सडक खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।