काठमाडौं – ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा ६ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ ।

पहिलो आगलागीबाट सबै गुमाएका दोभानवासी विस्तारै आफ्नो व्यापार–व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै गर्दा गएको बिहीबार भएको आगलागीले फेरि बिचल्लीमा पारेको छ । बिहीबार भएको आगलागीमा परी १० घर र १७ वटा पसल जलेका छन् ।

आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त तथा छरछिमेकीको आश्रयमा छन् । उद्योग वाणिज्य सङ्घ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताउनुभयो ।

नदी तथा खोलाकिनारमा बजार रहेकाले बैंकले लगानी डुब्ने जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उहाँको गुनासो छ । पिडितहरुरु अहिले जलेका सामान तथा भग्नावशेष पन्छाउने, बस्न मिल्ने घर सफा गर्ने र सम्भव भएका संरचनाको पुनर्निर्माण तथा व्यवस्थापनमा जुटेका छन् । रासस