काठमाडौं – बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन जना छोरा मनोज, मुकेश र निसानको ज्यान गएको हो ।
यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको ज्यान गएको हो ।
यस्तै माथागढी–३ मा पहिरोले घर पुरिँदा ३ जनाको अवस्था थाहा हुन सकेको छैन । माथागढी गाउँपालिका–३ भैसकट्टामा आज बिहान साढे ४ बजे घर माथिबाट पहिरो खसेको थियो । पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरेको र ७० वर्षीय लिलबहादुरसहित उहाँकी छोरी १७ वर्षीया दिना र छिमेकी मोतीलाल घर्तीमगरकी छोरी १५ वर्षीया झरना सम्पर्कविहीन भएको वडाअध्यक्ष तेजबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
घर माथिबाट आएको ठूलो ढिस्कोसहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरेको छ । ठूलो ढिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष यम चिदीले बताउनुभयो । घटनालगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले जानकारी दिनुभयो ।









