काठमाडौं – लगातारको वर्षाका कारण देशका मुख्य राजमार्ग हिजैदेखि बन्द छन् । काठमाडौं आउजाउ गर्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरोका कारण गाडी चल्न सकेका छैनन् ।

राजमार्गका विभिन्न ठाउँमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, ज्यामिरेघाट, गजुरी नजिकैको बाङ्गेमा ठूलो पहिरो खसेको छ ।

यस्तै बीपी राजमार्गको दुई ठाउँमा रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । पृथ्वी राजमार्ग, बीपी र कान्ति राजमार्ग अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथमा समय तोकेर पालैपालो गाडी सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ । बाढी पहिरोका कारण देशका अरु धेरै सडकखण्ड हिजैदेखि बन्द छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको उच्च जोखिम रहेका मध्य र पश्चिमका २५ जिल्लामा राति र दिउँसो दुवै समयमा गाडी पूर्णरुपमा बन्द गर्न सुझाव दिएको छ ।

त्यस्तै पूर्वी पहाड र मध्य तथा पश्चिम भेगका २९ जिल्लाहरुमा रातको समयमा बन्द गर्ने र दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले आवश्यक निर्णय लिन भनिएको छ । कोशी, मधेश र बागमतीका २३ जिल्लाहरुमा सतर्क रहन प्राधिकरणले भनेको छ ।