काठमाडौं – धादिङको कृष्णभीरमा गएराति ठूलो ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बाढीपहिरोको जोखिमका कारण रातभर बन्द गरेर आज बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि समस्या भएको छ । पहिरो पन्छाउने काम भैरहेको, तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।

त्रिशूली नदीको बाढीका कारण सडक भासिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरोसहितको ढुंगा खसेको हो । पहिरोकै कारण काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ पनि पूर्ण रुपमा अबरुद्ध छ ।

यस्तै कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङहुङ सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सडकमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । दिउँसो सडक खुला भएको बेलामा पनि बाढीपहिरोको जोखिम भएकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ ।