काठमाडौं – रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
सानीभेरी गाउँपालिका–६ को कोटगाउँबाट पालिकाको केन्द्र सिम्ली हुँदै जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको लु १ च ६०२९ नम्बरको जीप वडा–३ र ६ को सिमाना डाङडुङ्गेमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका–रुघाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की प्रेमकला पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा जीपधनीसहित नौ जना घाइते भएका छन् ।
चार जनाको अवस्था गम्भीर रहेको थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ । सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्राचारसहित हेलिकप्टर माग गरेको हो ।












