काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद् व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।
परारष्ट्रमन्त्रालयका अनुसार आउँदो असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदायसामु राख्नुहुनेछ ।
अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपद्बाट प्रताडित नेपालले ‘हानि तथा नोक्सानी कोष’बाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दाबी प्रस्तुत गर्नुहुनेछ । यसका साथै, धनी र औद्योगिक मुलुकहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपिल गरिनेछ ।
सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभाकै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा एक विशेष उच्चस्तरीय साइड–इभेन्ट समेत आयोजना गर्दैछ । जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ ।
प्रधामनन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनालसहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री खनालले विभिन्न मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।













