काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले पाँच दिनमै नयाँ पुल बनाएको छ ।
भदौ २० गतेदेखि निर्माण शुरु गरिएको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाडी सञ्चालन हुन थालेको छ । नेपाली सेनाको १४ नम्बर बाहिनीअन्तर्गतको ब्रिजिङ युनिटले ७२ घण्टाभन्दा कम कार्यअवधिमा पुल तयार पारेको जनाएको छ ।
पुलको भारवहन क्षमता ६० टन रहेको छ । पुल सञ्चालनमा आएपछि विदुर, बेलकोटगढी हुँदै धादिङ र रसुवागढीसँगको सडक सम्पर्क पुनः जोडिएको छ । पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवतजावत सहज भएको छ ।
नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा एक्रोब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो ।












