काठमाडौं – बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी शुरु गरिएको छ । ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता ८० किलो भनिए पनि परीक्षणका क्रममा प्रतिउडान ५३ किलोका दरले ढुवानी गरिएको छ । चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरु राहत सामग्री ढुवानीका लागि चारवटा ड्रोन उपलब्ध गराएको हो ।
बाढीका कारण सडकमार्ग क्षतिग्रस्त भएका तथा हेलिकोप्टरबाट समेत पहुँच कठिन भएका क्षेत्रमा राहत सामग्री पुर्याउन ड्रोन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।











