काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध सडक खुलाउन कम्तीमा २ हप्ता लाग्ने भएको छ ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध छ ।
सडक विभागले अवरुद्ध सडक १० देखि १५ दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ ।
सडकको अनुगमनपछि सडक विभागका सहसचिव चुणाराज ढकालले सडकको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो । उहाँले अवरुद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको जानकारी दिनुभयो ।
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसूदन आचार्यका अनुसार तत्काल सडक खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिङ्गल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ । ३–४ वटा मेशिन परिचालन गरेर काम गर्दा कम्तीमा २ हप्तामा कृष्णभीर क्षेत्रको सडक सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो ।











