काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा २९१ विदेशी र ९३ नेपाली पर्यटक रहेका छन् ।

नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदनमार्फत अहिलेसम्म ३८४ जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो ।

भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन् ।

विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेशिया, बेलायत र दक्षिण अफ्रिकालगायत देशका नागरिक रहेका छन् । केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको बोर्डले जनाएको छ ।