काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
आज कार्यालयमा आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रियामा उहाँले सडकमा सिठी फुकेर मात्रै दुर्घटना न्यूनीकरण गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘सडक प्रयोगकर्ताले सडक अनुशासन पालना नगर्दा निर्दोष व्यक्तिहरूको जीवन गइरहेको छ । यो अवस्थालाई न्यूनीकरण गर्नका लागि ट्राफिकले सिठी फुकेर मात्र सम्भव हुँदैन । त्यसैले हामी फेसलेस ट्राफिकको कन्सेप्टमा जानुपर्छ । नेपालबाट धेरै विषयमा पीएचडीसम्मका पढाइ हुन्छ तर ट्राफिकसम्बन्धी जानकारी दिने एक शब्द पनि पाठ्यक्रममा छैन ।’
एसएसपी काफ्लेले सडक सुरक्षाका ‘थ्री–ई’ अर्थात् इन्जिनियरिङ, एजुकेशन र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नुपर्ने बताउनुभयो ।
नेपालमा दैनिक औसत ८ जनाको सडक दुर्घटनामा ज्यान जाने र ७५ जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो । साथै उहाँले नागरिकसँग रुखो व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो ।













