काठमाडौं – सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएफटीए) सम्मेलन रद्द भएको छ ।

सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले जानकारी दिए ।

काठमाडौंमा हुने भनिएको आईएएफटीएको १७ औं सम्मेलनको आयोजना हिकास र सेन्टर फर बुद्धिस्ट स्टडिज राङजुङ येसे इन्स्टिच्युटले गर्न लागेको थियो ।

चीन सरकारको दबाबपछि निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन ९सीटीए० ले आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको थियो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई भेटेर सम्मेलनका बारेमा चासो राखेका थिए । विशेष गरी दलाइ लामाका प्रतिनिधिहरू नेपाल आउने र तिब्बती मामिलाका विषयमा यो सम्मेलनमा बहस हुन सक्ने सम्भावना औंल्याउँदै चिनियाँ राजदूत चाङले नेपाली अधिकारीहरूसँग चासो राखेका थिए ।

सम्मेलन नगर्दा छिमेकी देशहरूलाई समेत सहज भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

७ भदौदेखि १३ भदौसम्म चल्ने भनिएको सम्मेलनमा ३९ देशका ७२० जना प्रतिनिधि सहभागी हुने निश्चित भएको थियो । अब यो सम्मेलन नेपालमा नहुने भएको छ ।