काठमाडौं – लेदो र पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ ।

आज बिहान ७ बजेतिर चितवनको सिमलतालनजिकै पहिरो र लेदो खसेपछि यो सडक खण्ड दुईतर्फी अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो तथा लेदो सफा गरेपछि झण्डै २ घण्टापछि सडक खुलेको जनाएको छ ।

अहिले गाडी चल्न थालेका छन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट लेदो खस्ने हुँदा पटक पटक अवरुद्ध हुने गरेको छ ।

यो सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको आग्रह छ ।