काठमाडौं – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका छैनन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो ।
अहिले अस्पतालमा मेहताका आफन्तहरूले धर्ना दिएका छन् । उनीहरूले गृहमन्त्री सुधन गुरुङ आफैं आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । गृहमन्त्री निकट स्रोतका अनुसार, गुरुङ केहीबेरमा त्रिवि शिक्षण अस्पताल जाँदैछन् ।
आफूहरूको माग पूरा नभइ शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ जान लागेका हुन् । स्रोतका अनुसार गृहमन्त्री गुरुङ दिउँसो १ बजेदेखि नै हिन्दु र मुस्लिम समुदायका अगुवाहरूसँग छलफलमा थिए । उक्त छलफल सकिन लागेको र केहीबेरमै त्रिवि शिक्षण अस्पताल जान लागेको उनी निकट स्रोतले बतायो ।












