काठमाडौं – पछिल्ला वर्षहरूमा विश्वका चर्चित पर्वतारोहीमाझ सबैभन्दा धेरै बढेको मोह हो ‘फोर्टीन पिक’ । फोर्टिन पिकका सबैभन्दा ठूला प्रवर्तक थिए निर्मल पुर्जा उर्फ ‘निम्स दाइ ।’
८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल चढ्ने काम अर्थात् फोर्टीन पिकलाई निम्स दाइको अभियानअघि कसैले पनि त्यति छिटो छिटो चढ्न सकिएला भनेर विश्वास गरेका थिएनन् ।
निम्स दाइ नेतृत्वको टोलीले सन् २०१९ मा त्यसअघि फोर्टीन पिक आरोहण सम्पन्न गर्न लागेको झन्डै ८ वर्षको समयलाई आधा वर्षमा झारिदियो ।
त्यसअघि दक्षिण कोरियाका किम चाङ्–होले १४ वटा हिमालको आरोहण सक्न ७ वर्ष १० महिना ६ दिन लगाउनुभएको थियो । तर निम्स दाइले १८९ दिनमै ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरेर संसारलाई चकित बनाइदिनुभयो ।
निम्स दाइले सम्भव छ भनेर देखाएको फोर्टीन पिकको ताजले पर्वतारोहण जगतलाई नयाँ लय दियो । जसले नेपालको पर्वतारोहण व्यवसायको गति नै परिवर्तन गरिदिएको छ ।
८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये सगरमाथा (८ हजार ८४८), कञ्चनजङ्घा (८ हजार ६११), ल्होत्से (८ हजार ५८६), मकालु (८ हजार ५१६), चोयु (८ हजार ४६३), धौलागिरि–१ (८ हजार २०१), मनास्लु (८ हजार १६७), अन्नपूर्ण–१ (८ हजार १६३) गरेर ८ वटा नेपालमा पर्छन् ।
यस्तै के–टू (८ हजार १२५), नङ्गा पर्वत (८ हजार ९१), ग्यासेर ब्रुम–वान (८ हजार ६८), ब्रोड पिक (८ हजार ४७) र ग्यासेर ब्रुम–टू (८ हजार ३५) गरेर ५ वटा पाकिस्तान तथा शिशापाङमा (८ हजार २७) चीनमा पर्छ ।











