काठमाडौं – सुनसरीको देवानगञ्जमा गएको आइतवार राति भएको घटनामा गोली लागेर घाइते भएका अर्का एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

योसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ जना पुगेको छ । यसअघि आइतवारको घटनामा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा गोली लागेर घाइते भएका अरू ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २० जनाभन्दा धेरै घाइते भएका थिए ।

यस्तै सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्न ‘हिन्दू सम्राट नेपाल’ ले आज आह्वान गरेको बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यहाँका मुख्य बजार क्षेत्र, पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन् । केही खुलेका पसलहरू समेत सङ्गठनका युवाहरूले बजार गस्ती गरी बन्द गराएका थिए ।